नयाँ पुस्ता : एमआरआर’ भजन

blank
blank

निबार साँझ मन्दिर परिसरमा सयौँ युवा भेला हुन्छन्। मादल, झ्याली र हार्मोनियमको तालसँगै उनीहरू भजनमा रमाउँछन्, नाच्छन् र आधा घण्टा होइन, डेढ घण्टासम्म भजनकीर्तनको लयमा डुब्छन्।

यसका कारण हो, सामाजिक सञ्जालबाट जन्मिएको ‘एमआरआर’ (मेन्स रुम रिलोडेड) अभियान। गत वर्ष साउनमा भरतपुरस्थित महाकालेश्वर शिवालय मन्दिरबाट २० जना सहभागी भएर सुरु भएको यो अभियान अहिले चितवनका विभिन्न मन्दिरमा विस्तार भएको छ।

अहिले हरेक शनिबार साँझ ५ः०० बजेदेखि ६ः३० बजेसम्म हुने भजनमा एक हजारभन्दा बढी सहभागी हुने गरेका छन्।

अभियानका संयोजकमध्येका एक फणिन्द्र न्यौपानेका अनुसार सुरुमा केही युवाको प्रयासमा सुरु गरिएको भजन अहिले समुदायको साझा अभियान बनेको छ। ‘सुरुसुरुमा २०–२५ जना मात्रै हुन्थ्यौँ’, उनी भन्छन्, ‘अहिले त सहभागीको सङ्ख्या थामिनसक्नु भएको छ।’

एमआरआरको विशेषता एउटै स्थानमा सीमित नहुनु हो। हरेक शनिबार फरकफरक मन्दिरमा भजन आयोजना गरिन्छ। मन्दिर व्यवस्थापन समितिले समूहलाई निमन्त्रणा गर्ने गर्छ।

त्यसपछि संयोजक न्यौपाने, एकान्त प्रेमी र रवि खरेलले कुन मन्दिरमा जाने भन्ने निर्णय गर्छन्। सामाजिक सञ्जालमार्फत स्थान र समय सार्वजनिक गरिन्छ र त्यसपछि स्थानीयवासी स्वतः भजनमा सहभागी हुन पुग्छन्।

भजनका लागि करिब ४०–५० जना युवा वाद्यवादन सामग्रीसहित मन्दिर पुग्ने गर्छन् भने मन्दिरले बस्ने व्यवस्था र ‘साउण्ड सिस्टम’ उपलब्ध गराउँछ। सामान्यतया २५ देखि ४० वर्ष उमेर समूहका युवाको सहभागिता बढी हुने गरेको छ।

एमआरआरमा सहभागी युवाले भजनका लागि कुनै शुल्क लिँदैनन्। अभियान पूर्ण रूपमा स्वःस्फूर्त र सेवामूलक रहेको न्यौपाने बताउछन्।

प्राथमिकता चितवनभित्रका मन्दिरलाई दिइए पनि आवश्यकताअनुसार अन्य जिल्लामा पनि भजन गर्न जाने गरिएको छ।

भजन आरतीसँगै सुरु हुन्छ। त्यसपछि युवाले पालैपालो टुक्का निकालेर भजन गाउँछन्। मन्दिर परिसरमा उपस्थित स्थानीय पनि गीत, भजन र नृत्यमार्फत सहभागी बन्छन्। भजनस्थलमा स्वास्थ्य सेवाको व्यवस्था गर्न थालिएको छ।

संयोजक न्यौपानेका अनुसार यो अभियानको उद्देश्य केबल धार्मिक कार्यक्रम आयोजना गर्नुमात्र होइन। युवालाई मानसिक तनावबाट मुक्त गराउने, ध्यान केन्द्रित गर्न सहयोग गर्ने र सकारात्मक सोच विकास गर्ने अभियानका रूपमा यसलाई अघि बढाइएको छ।

‘पहिला बुबाआमाले मात्रै गाउने भजनप्रति अहिले युवाको आकर्षण बढेको छ’, उनी भन्छन्, ‘यसले युवालाई सकारात्मक ऊर्जा दिएको छ।’

एमआरआर अभियान विस्तारसँगै यसमा जोडिएका युवालाई सामाजिक उत्तरदायित्वका काममा पनि परिचालन गर्न थालिएको छ।  

विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, स्वास्थ्य सचेतना लगायतका अभियानमा उनीहरूलाई सहभागी गराइँदै आएको छ।

 संयोजकहरूका अनुसार अभियान कुनै राजनीतिक दलसँग आबद्ध छैन। यसमा सहभागी सबै युवा स्वतन्त्र र स्वःस्फूर्त रूपमा जोडिएका छन्।

एमआरआर भजन अभियानको सुरुआत पोखराका युवाले गरेका थिए। त्यसपछि विस्तार हुँदै अहिले काठमाडौं, चितवन, बुटवल, हेटौँडासहित करिब २० जिल्लामा यो अभियान सञ्चालन भइरहेको छ।

सामाजिक सञ्जालबाट सुरु भएको एउटा सानो पहल आज हजारौँ युवालाई मन्दिर, सङ्गीत, आध्यात्मिकता र समाजसेवामा जोड्ने अभियान बनेको छ।

परम्परागत रूपमा ज्येष्ठ पुस्ताको सहभागितामा सीमित मानिएको भजन संस्कृतिमा युवाको बढ्दो उपस्थितिले धार्मिक गतिविधिलाई नयाँ पुस्तासँग जोड्ने एउटा सकारात्मक उदाहरण प्रस्तुत गरेको छ।

सम्बन्धित समाचारहरू

[activity-listing per_page="3"]
Dec 25
blank

Purna Rai & Daju Bhaiharu Live

Dec 31
blank

New Years Eve Boat Party

Dec 31
blank

New Year’s Eve Harbour Party

Jan 28
blank

Sajjan Raj Vaidya Live in Perth