गाई र जात्रा अर्थात् यस दिन माता र पृथ्वीको रूपमा हिन्दु संस्कारमा पूजनीय गाई को जात्रा पनि हो । इतिहासका पन्नाहरुमा लेखिएका र किंवदन्तिहरुका अनुसार यस दिन काठमाडौँ उपत्यका वासीहरूले यम अर्थात् मृत्युका देवता यमराजलाई पूजा गर्ने गर्दछन् ।

विक्रम संवत् १६४१ देखि १६६४ मा राजा प्रताप मल्लको नाबालक छोराको निधनले उनकी रानीलाई परेको वियोगको शोकका कारण विक्षिप्त बनेकी थिइन् र धेरै समय बितिसक्दा पनि सामान्य जीवनयापन र राजकाजमा नफर्किएर एक्लै टोलाएर बस्ने गरेकी थिइन् । मृत्यु भनेको कसैको नियन्त्रण नहुने क्षण हो भन्ने यथार्थलाई राजाले कैयनपल्ट बुझाउन खोजे पनि रानीका आँखा ओभानो नभएपछि राजाले एउटा जुक्ति निकाले राजा प्रताप मल्लले नाबालक छोरा गुमाएको त्यस वर्षभरिमा राज्यमा मृत्यू भएका नागरिकहरूका आफन्तलाई गाई सहित दरबार अगाडीबाट रानीले देख्ने गरि जात्रा निकाल्न आह्वान गरे । उक्त दिन यसरी निकालिएको जात्रा अहिलेको काठमाडौँ दरबार स्क्वाएरमा प्रदर्शन गरिएको थियो र उक्त नौलो प्रदर्शनीले सबैको ध्यान तानेको थियो । आफ्ना आफन्तजन, प्रियजन गुमाउने धेरै परिवारको सदस्यले उनीहरूको सम्झनामा जात्रा निकालेको देखेपछि रानी मृत्युको शोक आफूलाई मात्र नपरेको बरु आफ्ना जस्ता छोरा, आमा, बुवा लगायतका अन्य पारिवारिक सदस्य गुमाएको पीडालाई सम्मानसहितको सम्झना गरेको अनुभूति गरिन् । राजाले उक्त जात्रामा विभिन्न ठट्टा, चटक र व्यङ्गहरू पनि समावेश गर्न जनतालाई प्रोत्साहन गरेको हुँदा रानीले उक्त कुराहरु हेरेर सम्पूर्ण पीडा बिसाएर फोहोरा छोडेर हाँसेकी समेत थिइन ।
अर्कोतर्फ जात्रामा आएका व्यक्तिहरूले विभिन्न प्रदर्शनी र झाँकीका माध्यमबाट समाजका धनी व्यक्तिहरुको आडम्बर र गरिबका पीडालाई साङ्केतिक रूपमा व्याख्या गर्ने सुरुवात गरेका थिए । अर्थात् गाईजात्रा विशेषतः वर्तमान सामाजिक, सांस्कृतिक तथा राजनीतिक गतिविधिका नकारात्मक पक्षहरूलाई व्यक्ति समाजमा कलात्मक ढङ्गले चिरफार गर्ने चाड पनि हो । त्यस समय समाजले गरिब, निमुखाप्रति गरेको थिचोमिचो अनि अन्यायका उदाहरणलाई व्यङ्ग्यात्मक ढङ्गले जनताहरूले राजा रानीसमक्ष प्रस्तुत गरेका थिए । गाईजात्रामा सुरुवात गरिएको यो व्यङ्गको चलन पुस्तौंपुस्तामा हस्तान्तरण हुँदै आजसम्म पनि राजनीतिकर्मी, सञ्चारकर्मी र समाजका अन्य प्रतिष्ठित व्यक्तिहरूलाई लक्ष्य बनाएर विसङ्गति, विकृति, कुरीति र आडम्बरलाई छेड हान्ने चलनका रुपमा प्रचलित छ । कसैले पनि गाईजात्रामा गरिएको व्यङ्गप्रति इख राख्न पाइँदैन । “हिन्दु धर्ममा गाई पवित्र जनावर हो। हाम्रो दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको पिठिउँमा पहेँलो वस्त्र लगाइदिएर घुमाउने गरिन्छ। मृतकको आत्माको शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो।”नेवारी भाषामा यो पर्वलाई ‘सापारू’ भनिन्छ। ‘सा’ को अर्थ गाई र ‘पारू’ को अर्थ प्रतिपदा तिथि हो जुन तिथि मा यो चाड मनाइन्छ।