श्रावण १५-खीर खाने दिन ,

blank

, घरघरमा खीर खाएर आज श्रावण १५ मनाइँदै छ। आजको दिन  खीर खाने विशेष दिनको रूपमा समेत प्रचलित रहेको छ। नेपाली परम्परा अनुसार वर्ष भरि विभिन्न महत्त्वपूर्ण दिनहरूमा विभिन्न परिकार खाने चलन रहेको छ। असार १५ मा दही-चिउरा, माघे संक्रातीको दिन घिउ र चाकु, अक्षय तृतीयाको दिन जौ को सातु को साथमा सर्बत, कात्तिक महिनाको हरिबोधिनी एकादशीको दिन सखरखण्ड र पिँडालु, माघको १५ मा मालपुवा, हरितालिका तीज अन्तर्गत पञ्चमी तिथि वा ऋषि पञ्चमी मा कर्कलो, र जनै पूर्णिमाको दिन क्वाँटी (नौ थरी गेडागुडीको मिश्रण) खाने चलन रहेको छ। त्यसै गरी नेवार समुदायमा मङ्सिर पूर्णिमा वा योमरी पूर्णेको दिन योमरी खाने चलन रहेको छ। 

दूधमा चामलको साथ सुख्खा-फल र मसला हालेर खीर तयार गरिन्छ जसको नेपाली समाजमा विशेष महत्त्व रहेको छ। नेपाली सनातन वैदिक सभ्यतामा श्राद्धको साथै पूजाआजा जस्ता शुभ कार्यमा समेत खीरको प्रसाद बनाउने र पारिवारिक जमघट गरी यस पोसिलो परिकार खाने गरिन्छ। धार्मिक मान्यता अनुसार समेत शुभ कार्य र कुनै नयाँ कामको सुरुवात इत्यादिमा पनि  खीर खाने मान्यता रही आएको छ। 

यो महिना साउने झरी पर्ने बेला र यस बेला तातो-तातो खीर स्वास्थ्यको लागि राम्रो भएकाले पनि खीर खाने चलन चलेको हुन पर्छ। यसरी ऋतु अनुसार भिन्न भिन्न प्राकृतिक पदार्थहरूको परिकार बनाई खाने नेपाली लोक परम्परा रहेको छ। त्यसै अनुसार यस श्रावण महिनामा आउँदो जाडो र असारको वर्षे कामको थकानबाट बच्नका लागि खीर खाने चलन रहेको छ।  खीर आफू सँग भएको वा गच्छे अनुसारको बासमती वा ताइचिन चामल, देखि मसिनो बास्नादार चामलमा दूध हालेर किसमिस, काजू, नरिवल, छोकडा जस्ता मरमसला हाली तयार पारिन्छ। यो परिकार शक्तिवर्धक हुनुका साथै रोग निवारक समेत हुन्छ। 

श्रावण गर्मी र वर्षाको महिना समेत भएकोमा यस महिनामा शरीरमा दाद, लुतो र खटिरा जस्ता रोगले आक्रमण गर्ने हुँदा शरीरको रोग प्रतिरोधात्मक शक्ति बढाउनुपर्ने हुन्छ। रोग प्रतिरोधात्मक शक्ति बढाउनको लागी यो महिनामा दूध र दूधजन्य परिकारहरू त्यसमा पनि खास गरी खीर खाने चलन रहेको छ।  पौराणिक मान्यता अनुसार श्रावण महिना देवाधी देव शिव शङ्कर अर्थात् महादेवको आराधना गर्ने महिनाको रूपमा लिइन्छ। त्यसै कारण यो महिना माछा-मासु, मदिरा आदि सेवन नगरी व्रत बस्ने र आँप, नास पाती तथा भूइँकटहर लगायतका फलफूलहरू खाने चलन रहेको छ। 

परा-पूर्व काल देखि विशेष दिनमा विशेष प्रकारको भोजनलाई चलनचल्तीमा ल्याइएको देखिन्छ। एक किम्बदन्ती अनुसार द्वापर युगमा भगवान् श्री कृष्णले एक दिन साधारण साधुको भेष लिएर एक राजासँग बाघ-चाल खेल्न जानुभएको थियो। र, उनले आफ्नो जितको बदलामा राजाले विभिन्न मठ-मन्दिर हरूमा रहेका गरिब अनि दिन दुखीहरूलाई निःशुल्क  खीर खुवाउनु पर्ने सर्त राख्नुभएको थियो। भगवान् श्री कृष्णले उक्त बाघचाल खेलमा राजामाथि विजय प्राप्त गरेको सम्झनामा आजसम्म पनि मठ-मन्दिर हरूमा दीन दुखीहरूलाई प्रसादको रूपमा  खीर बाँड्ने चलन रहेको पाइन्छ। त्यसै गरी त्रेता युगमा पनि राजा दशरथका पत्नीहरूले  खीर खाए पछि गर्भवती भएको कुरा वर्णन गरिएको छ। 

आर्यूवेदमा पनि खीरलाई प्राचीन भोजनको रूपमा व्याख्या गरिएको पाइन्छ। सालको रुखका ठूल्ठूला हरिया पातहरूलाई बाँसको कप्टेराका मसिना सिन्का बनाई, त्यसले ती पातहरू गाँसेर दुना-टपरी बनाई, त्यस्ता दुना-टपरीमा खीर खाँदा खीरको स्वाद समेत बढेको पाइन्छ। खीर शब्द संस्कृत भाषाको “क्षीर” शब्दबाट आएको मानिन्छ। क्षीर भन्नाले दूध र अन्नबाट बनेको परिकार भन्ने अर्थ लाग्दछ। यसलाई कतै “पायस” त कतैकतै “तस्मै” भन्ने पनि गरिन्छ। वैदिक सनातन संस्कारमा श्राद्धको दिन पितृहरूलाई चढाउने पायस वा दूध र अन्नको मिश्रणका रूपमा खीर पकाउने चलन पनि रहेको छ। 

हाम्रो देश नेपाल, कृषिप्रधान देश भएको र यहाँका बहुसङ्ख्यक नेपाली कृषि क्षेत्रमा आश्रित भएकाले उनीहरूले धान रोपाई सकिए पश्चात् खुसीयाली मनाउन खीर खाने परम्परा रहेको पनि मानिन्छ। खीर बनाउँदा दूध र चामलमा मात्रा अनुसार मिसाइने चिनी वा सक्खर को साथ घ्यु, सुख्खा-फल (मरीच, दाख, सुकेको नरिवल, दालचिनी) आदिले त्यसलाई अझ स्वादिलो र पोसिलो बनाउने गर्छ। खीरमा सुख्खा-फल मिसाउँदा भिटामिनको साथै खनिज तत्त्वहरू पनि पाइन्छ। चामलमा कार्बोहाइड्रेट पाइन्छ भने दूध क्याल्सियम र प्रोटिनको राम्रो स्रोत हो। 

चिल्लो ननिकालिएको दूधबाट बनेको खीर क्यालोरीको राम्रो श्रोत समेत हो। अझ गाईको दूधबाट बनेको खीर बाट त भिटामिन ए पाउन सकिन्छ। यसरी खीर बनाउँदा हालिने घ्युबाट हामीले हाम्रो शरीरमा चाहिने चिल्लो पदार्थ “फ्याट” को मात्रा पूरा गर्न मद्दत गर्छ। चिल्लो निकालिएको वा घ्यु नहाली बनाइएको खीर नरम खाद्य भएकाले बिरामीलाई खुवाउन सकिन्छ। यसलाई बिरामीले सजिलै पचाउन सक्छन्। खीर बच्चा, वृद्ध सबैलाई  मन पर्ने एक उपयुक्त खानेकुरा हो। 

आर्यूवेद अनुसार यस ऋतुमा शरीर भित्र पित्त सञ्चित हुने भएकाले  खीर खान उपयुक्त मानिन्छ। दूधमा शीतलता प्रदान गर्ने मधुर गुण हुन्छ भने मरिचले कफ हटाउन मद्दत गर्छ।  खीरमा अग्नि वर्धक दाख मिसाउनाले यसले पित्त नास गर्ने क्षमता बोकेको हुन्छ।  खीरमा मिसाइने केसर ले बल प्रदान गर्नुका साथै वर्ण (छाला र अनुहार) चहकिलो पार्ने र पित्त नास गर्ने काम पनि गर्छ। खीर बनाउँदा यसमा मिसिने सुख्खा-फलले भिटामिन र खनिज तत्त्वहरू, चामलमा रहेको कार्बोहाइड्रेट, दूध बाट पाइने क्याल्सियम, प्रोटिन इत्यादि सबै शरीर लाई चाहिने आवश्यक तत्त्वहरू भएकाले यो ऋतुमा  खीर भोजन गर्नु लाभप्रद हुन्छ।

आजको दिनले हाम्रो सांस्कृतिक महत्त्वलाई दर्साउँदै, पारिवारिक जमघट र आफन्तहरू बिचको सामीप्यलाई अझ प्रगाढ बनाउन मद्दत गर्छ। यस दिनले देशको पहिचान बोकेको छ भन्दा पनि अनुचित हुँदैन। विभिन्न सांस्कृतिक परम्पराहरूले नै हाम्रो देशको मौलिक पहिचान बोकेका छन्। त्यसैले हाम्रा विभिन्न मौलिक पहिचानहरूको जर्गेना गर्न पनि आजको दिनले मद्दत गर्ने हुँदा नेपालका सबै समुदायले मनाउने हरेक किसिमका चाडपर्वको संरक्षण गरौँ अनि भावी पुस्तालाई हाम्रा सांस्कृतिक परम्पराको महत्त्व बुझाउने कर्तव्य को पालना गरौँ।  खीर खाने दिन-श्रावण १५ को नेपालीहरू माझ धेरै-धेरै शुभ-कामना।

सम्बन्धित समाचारहरू

Dec 25
blank

Purna Rai & Daju Bhaiharu Live

Dec 31
blank

New Years Eve Boat Party

Dec 31
blank

New Year’s Eve Harbour Party

Jan 28
blank

Sajjan Raj Vaidya Live in Perth

Feb 14

Nepal Idol with Shiva Pariyar