कास्कीको माछापुच्छ्रे, लाहाचोकमा जन्मिएकी समीक्षा कक्षा ३ पुग्दासम्म आफ्नो सुमधुर स्वरबारे बेखबर थिइन् । कक्षामा एक जना साथी साह्रै राम्रो गाउँथिन् । उनले समीक्षालाई एउटा गीत ‘सिकेर आऊ’ भनिन् । समीक्षाले घर पुगेर गीत पूरै कण्ठ गरिन् ।
भोलिपल्ट कक्षामा शिक्षिकाले समीक्षा र उनकी साथीलाई एकैपटक गाउन लगाइन् । ‘साथीहरू र मिसलाई मात्र हैन, मलाई पनि म मीठो गाउन सक्छु भनेर पहिलो पटक त्यही दिन थाहा भयो,’ समीक्षा सुनाउँछिन् । त्यसपछि त मनपर्ने गायक गायिकाका गीतलाई आफ्नै आवाजमा सुन्दा उनी हुरुक्कै हुन थालिन् । कक्षा ६ मा आइपुग्दा समीक्षाको सपना नै गायक बन्ने भयो । त्यो सपना पूरा गर्न उनले निकै ठूलो संघर्ष गर्न र हन्डर खानु भने परेन ।
इन्टरनेटको समयमा आफ्नो आवाजलाई घरबाटै संसारले सुन्न र हेर्न सक्छ । स्कुले पोसाकमा समीक्षाले गाएको एउटा गीतको भिडियो धेरै मान्छेसम्म पुग्यो । करिब ८ वर्षअघि फिल्म ‘नाइँ नभन्नु ल ५’ का निर्देशक विकासराज आचार्य र संगीतकार वसन्त सापकोटाले उनको स्वर मन पराए । त्यसपछि वसन्तले समीक्षालाई पार्श्व गायनका लागि प्रस्ताव गरे । १३ वर्षको उमेरमा स्टुडियोभित्र पुग्दा उनलाई अजिव महसुस भयो । ‘पहिलो पटक कानमा हेडफोन आएको छ, स्टुडियोमा बसेर म गाइरहेकी छु । सपनामा छु जस्तो लागिरह्यो,’ समीक्षा सम्झन्छिन् ।
गीत रेकर्ड भयो । फिल्मसँगै गीत पनि रिलिज भयो । गीत निकै रुचाइयो तर समीक्षालाई कसैले याद गरेन । पछि उनका काका पर्ने सीडी विजय अधिकारी ‘भ्वाइस अफ नेपाल’ को विजेता भएर गाउँ पुग्दा बाजागाजासहित धुमधामले स्वागत गरिएको थियो । त्यही बेला समीक्षा पनि त्यहाँ पुगेकी थिइन् ।
‘उहाँको अन्तर्वार्ता लिन आउनु भएकाहरूलाई मेरा साथीहरूले समीक्षाले पनि गीत गाउँछ भनिदिएछन् । त्यसपछि उहाँहरूले मेरो पनि अन्तर्वार्ता लिनुभयो । त्यति बेला ‘मेरो पनि आफ्नो गीत छ’ भन्दा उहाँहरू अचम्ममा पर्नुभयो । त्यो अन्तर्वार्ता भाइरल भएपछि म चिनिन थालेँ,’ समीक्षा सम्झन्छिन् ।
त्यसपछि समीक्षालाई गीतका प्रस्तावहरू निकै आउन थाले । संगीत सर्जक र श्रोताको आँखामा उनी पर्दै गइन् । आधुनिक गीत गाइरहेकी समीक्षाले लोक गीत पनि गाउन थालिन् । त्यसअघि कसैलाई लागेको थिएन, उनले लोक गीत पनि गाउन सक्छिन् भनेर ।
‘लकडाउनको समयमा लोक गीत ‘माया मारेर’ गाएँ । त्यो गीत गाउन स्टुडियो बोलाउँदासम्म मैले लोक गीत गाउन सक्दिनँ कि भन्ने रहेछ, जब मैले गाएँ धेरै जना अचिम्भत हुनुभयो,’ समीक्षा सम्झन्छिन् ।
आधुनिक र लोक गीत दुवै गाउने भइसकेपछि उनको व्यस्तता झन् चुलिँदै गयो । समीक्षा पहिला–पहिला कलाकारसँग फोटो खिचाउन पाउँदा असाध्यै खुसी महसुस गर्थिन् । जब मान्छेहरू आफैंसँग फोटो र सेल्फी खिचाउन आए, त्यति बेला मात्र उनलाई लाग्यो, ‘म पनि सेलिब्रिटी भएँ ।’

‘फेरि कहाँ आउँछ र घुमेर यो बालापनको उमेर...

जिन्दगीको एउटा नमीठो घटनामा परिन् । नाबालिका समीक्षाका लागि पितृसत्तात्मक सोच बोकेको समाज अप्ठ्यारो बनिदियो । मेला, महोत्सवदेखि सार्वजनिक कार्यक्रममा उपस्थित हुन पनि उनलाई असहज बनाइयो । भर्खर उडान भर्दै गरेको उनको सांगीतिक करिअरमा नै अवरोध पारियो ।
समीक्षा आफ्नै गीतका स्थायी सम्झँदै हाँस्छिन् । हुन पनि उनले आफ्नो बालापन धेरै भोग्न पाईनन् । गीत हिट भएपछि उनी कलिलो उमेरमा नै एकाएक ‘सेलिब्रिटी’ गायिका बन्ने छनक दिइसकेकी थिइन् । तर त्यो ख्यातीमा उनले धेरै लामो समय रमाउन पाइनन् ।
अगाडि बढिरहेको करिअरमा ब्रेक लाग्नु, बिनागल्ती समाजले धकेलेर पर पुर्याउनु ! तर यसैलाई दुःख मानेर आफूलाई विलय गराउनु उनका लागि न्यायोचित थिएन । गायक पशुपति शर्मासँगको युगल गायनमा समीक्षाको गीत छ, ‘मलाई पनि छ उनलाई पनि छ, आफ्नो आफ्नो दुःख त जूनलाई पनि छ ।’
संसारका ‘हर’ मान्छेलाई हुने दुःखबाट आफू भाग्न नहुने लागिरहेको बेला यो गीत गाएकी थिइन् समीक्षाले । लाग्छ, उनका सुनौला दिन त्यही गीतबाट फर्किए । अघिल्लो वर्ष हिट भएको फिल्म ‘बोक्सीको घर’ को गीत ‘बुझिनँ मैले बुझाइदेऊ’ का शब्द समीक्षालाई गाउनका लागि आयो । गीतका शब्दहरूले उनको शरीरमा काँडा उमारे । एउटै नारीलाई बोक्सी, बेबी, डार्लिङ र देवी भन्ने समाजको चित्रण गीतले बलियोसँग गरेको थियो ।
‘यो गीतले मभित्र पनि अनौठो ऊर्जा दियो, सायद यसमा मेरो स्वर मात्र हैन, भावनाको पनि मिश्रण छ,’ समीक्षा भन्छिन् । त्यति बेलै उनले लागेको थियो, ‘यो गीतले जादु गर्छ ।’ नभन्दै गीतले समीक्षाकै करिअरमा जादु गर्यो । फिल्मको भविष्यमा जादु गर्यो । महिलाहरूको सशक्तीकरणमा ‘जादु’ गर्यो ।
यो बीचमा उनले स्वर दिएका केही गीतहरूमा महिलाका दरिला आवाज सुनिन्छन् । समीक्षा ठान्छिन्, ‘यो संयोग मात्र हैन, रहर पनि हो ।’ बिनागल्ती समाजमा एउटी नारी सजायको भागेदार किन हुनुपर्छ ? समीक्षाभित्र पटक–पटक यो प्रश्न जन्मिरहन्छ । जवाफ अझै प्रस्ट पाउन सकेकी छैनन् उनले । ‘समाजले पुरुषले गरेको गल्तीलाई गल्ती मान्दैन । तर महिलाले गल्ती नै नगर्दा पनि जीवन सकाउनतिर लाग्छ,’ उनी असन्तुष्ट सुनिन्छिन् ।
कुनै समय सामान्य गालीमा पनि हतासिने समीक्षा आजकल विचलित हुन्नन् । बरु असभ्य कमेन्ट गर्नेहरूलाई सबक सिकाइरहेकी छन् । केही समयदेखि उनी र अर्की गायिका एलिना चौहानले आफूहरूमाथि सामाजिक सञ्जालमा असभ्य कमेन्ट गर्ने व्यक्तिका प्रोफाइल खोजी खोजी सार्वजनिक गरिरहेका छन् । यी गायिकाद्वयको प्रतिकारलाई यतिबेला बौद्धिक वर्गले पनि निकै समर्थन गरेको छ ।
स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि ‘साहसी छोरीहरू’ भनेर उनिहरूको अभियानलाई समर्थन गर्दै लेखे, ‘समाजलाई उत्तेजनाले गाइड गरेर गलत बाटोतर्फ डोर्याउन नदिन र विवेकतर्फ फर्काउन ‘गाली गर्नेहरूलाई सार्वजनिक गरिदिने’ यी दुई गायिकाको तरिका सही लाग्यो । समाजको हरेक सकारात्मक पहलकर्ताले गाली पाउने प्रवृत्ति अति भइसक्यो । राम्रो गर्न खोज्नेले हिम्मत हार्नु हुँदैन ।’
केही वर्षअघिसम्म पनि बाआमाले थकित अनुहार लगाउँदै ‘आज टेन्सन भइरहेको छ’ भन्दा समीक्षा ‘यो टेन्सन कुन सामानको नाम होला ?’ भन्ने ठान्थिन् । आमालाई उल्टै सोध्थिन्, ‘ममी, यो टेन्सन भनेको के हो ?’ त्यति बेला खुला आकाशको पन्छी जस्तै घुम्थिन्, समीक्षा चारैतिर ।
समीक्षाको बाल्यकालीन कथा उनैले गाएका गीतका अन्तराजस्तै छन् । तर त्यो बालापनको रामरमाइलो धेरै भोग्नै पाइनन् । संसार नै आफु विरूद्ध खनिएको पो हो की भन्ने लाग्न थालेपछि उनका ‘टेन्सन’ सुरु भए । ‘कमेन्ट गर्नेको प्रोफाइल हेरेँ, त्यहाँ छोरीहरू र श्रीमतीको बीचमा एउटा श्रीमान् । के म पनि त्यही छोरीजस्तो हैन ?’ उनले आफूविरुद्ध भद्दा कमेन्ट गर्ने पात्रलाई लक्षित गर्दै दुःख पोख्छिन् ।

समीक्षाको समय राम्रो चलिरहेको थियो । तर, अचानक आइदियो ‘ब्याड टाइम’ । त्यो ऐंठनबाट निकै दिन र महिनाहरू गुज्रिइन् समीक्षा । पीडितलाई झन् पीडित बनाउने समाजको कमजोर चेतनाले लामो समयसम्म उनलाई डसिरह्यो । यो क्षेत्रमा लागेका सुरुवाती दिनमा सबैको माया पाउँदा उनी फुरुङ्ग थिइन् ।
त्यस बेला एक–दुई राम्रा कमेन्ट फेसबुकमा आउँदा पनि खुसीले तीन दिनसम्म भोक र निद्रा हराउने उनका लागि घृणित र असभ्य गालीको वर्षात् हुँदा कस्तो भयो होला ? सर्वप्रिय भइरहेकी उनका लागि त्यस्तो निकृष्ट व्यवहारको सामना गर्नुपर्ला भन्ने सोच कहिल्यै थिएन । सानै उमेरमा वाहवाही बटुलेकी समीक्षाले कहिल्यै ‘टेन्सन’ को सामना गर्नुपरेको थिएन । ‘सधैं गुड टाइम चलिरहँदा सोचेको थिइनँ, ब्याड टाइम पनि चल्छ भनेर,’ समीक्षा भन्छिन् ।
एक समय लाग्यो समीक्षालाई, अब सारा प्रशंसकहरू गुमे, सारा दर्शक गुमे । संसार नै आफूविरुद्ध लागिरहेको अनुभूत भयो । त्यति बेला उनी पीडित हुनुको पीडा त आफैंमा गहिरो थियो । त्यसमाथि उनको व्यावसायिक जीवनमा नै अवरोध आए । ‘कहीँ त यस्तो मान्छेसँग किन गीत रेकर्ड गरेको भन्दै रेकर्डिङ भएको भोकल हटाइए,’ समीक्षा सम्झिन्छिन् । तर जतिसुकै समस्या र झमेला आइपरे पनि उनले हिम्मत भने हारिनन् । बा र आमाले आँट दिइरहन्थे, ‘तिमी हिम्मतिली छौ, हिम्मत नहार ।’
एक पटक त चारैतिर ढोका बन्द भएको भान भयो समीक्षालाई । कति रातहरू अनिद्रामा बिते, कति दिनहरू उकुसमुकसमा बिते । गलिनन्, थाकिनन् ।
‘अरू कोही हुन्थे त जे पनि गरिसक्थे, मैले आफूलाई सम्हालिरहे, जोगाइरहेँ,’ उनी सम्झिन्छिन् । जीवनको सबैभन्दा अँध्यारो क्षणमध्येको एउटा उनी बिर्सन सक्दैनन् । संखुवासभाको एउटा महोत्सवमा पुगेकी थिइन् समीक्षा । स्टेजमा गाउँदै गर्दा उनीमाथि ढुंगा बर्सिए, गालीगलौज आए ।
‘त्यो दिनले थुप्रै दिनसम्म मलाई झस्काइरह्यो । त्यही कारण आजको दिन पनि स्टेज चढ्दा मुटु ढुकढुक हुन्छ,’ समीक्षा भन्छिन् । त्यति बेलाचाहिँ उनलाई लागेको थियो, ‘हिम्मत नहारी यहाँसम्म पुगेकै थिएँ, अब सक्दिनँ ।’
उदास बितिरहेका दिनहरूमाझ उनले फेरि आफूलाई झकझकाइन्, ‘म उठ्नुपर्छ ।’ एक पटक उनी अस्ट्रेलिया पुगेकी थिइन् । धेरैले लख काटे– समीक्षा अब फर्किन्नन् । ‘म एक महिना बसेँ । फ्रेस भएर फर्किएँ । किनकि भोलि राम्रो हुन्छ भन्ने थाहा थियो,’ उनी भन्छिन् ।
…
समीक्षाका सुनौला दिन फेरि फर्किएका छन् । यी दिनलाई उनी संयमतापूवर्क अगाडि बढाइरहेकी छन् । उनलाई भाइरल हुने जमानमा पानीको फोका भएर बिलाउनु छैन । हिँड्दाहिँड्दै थाक्नु पनि छैन । ‘मलाई त लङ रेसको घोडा हुनु छ । परपरसम्म पनि गुन्जिनु छ,’ समीक्षा उत्साहित सुनिन्छिन् । कुनै समय थियो, स्टेज चढ्दा पनि डरले भाउन्न छुट्थ्यो समीक्षालाई । तर सपना त थियो स्टेज नै चढ्ने । जहाँ टेकेर गीत गाइरहेका गायक–गायिकाका लागि सयौं हात श्रद्धा र प्रेमका लागि उठ्थे ।
समीक्षा स्टेज उक्लेर दर्शक–श्रोताको प्रेम बटुल्ने दिन पनि आयो । तर स्टेजमा सधैं प्रेम मात्र कहाँ वर्षन्छ र ! आजकल बिहानदेखि साँझसम्मै बेफुर्सदिली छन् समीक्षा । बर्खामा कार्यक्रम कम हुन्छन् । तर नजिकिँदै गरेको तीजको माहोलले कलाकारलाई छपक्कै छोप्ने गरेको छ ।
समीक्षालाई दिनमै ८ वटाभन्दा बढी गीत रेकर्डिङका प्रस्ताव आउँछन् । उनी चार वटासम्म गर्छिन् । ‘धेरै गर्यो भने घाँटीलाई असर हुन्छ । आवाजलाई पनि जोगाउनुपर्यो नि, हैन र !’ समीक्षा हाँस्दै भन्छिन् । गीत रेकर्डिङको व्यस्त सिलसिलाबाट केही समय जुटाएर कुरा गर्न राजी भएकी थिइन्, उनी । ‘मलाई गायिका बन्ने चाहना थियो तर सोचेको थिइनँ, कुनै दिन यतिसम्म व्यस्त हुन्छु भनेर,’ आफ्ना कामहरूको फेहरिस्त सुनाउँदै समीक्षा भन्छिन् ।

HI’